एमाले महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन

नेपाल समूहका नेता जिम्मेवारीविहीन

नेकपा (एमाले)ले १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँड गरेको हो ।

दुई सय ६५ आयोजक कमिटीका सदस्यको कार्यविभाजन गरिएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुको भने कार्यविभाजन गरिएको छैन । नयाँ कार्यविभाजन अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी स्कुल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र सहइन्चार्ज उपत्यका विशेष कमिटी, विष्णुप्रसाद पौडेललाई सङ्गठन विभाग प्रमुख र अर्थ तथा योजना विभाग प्रमख तोकिएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई वाग्मती प्रदेशको इन्चार्ज र राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसँगै उद्योग तथा वाणिज्य विभाग प्रमुख, नेपाल उद्योग व्यवसाय महासङ्घको इन्चार्ज तोकिएको छ ।

यस्तै प्रभु साह सहरी विकास विभागको प्रमुख, पेशागत महासङ्घ नेपाल इन्चार्ज र नेपाल बुद्धिजीवी परिषद् इञ्चार्ज तथा टोपबहादुर रायमाझीले मोर्चा सङ्गठनको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रदीपकुमार ज्ञवाली प्रवक्ता तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख, सुभास नेम्बाङ प्रदेश नं. १ को इन्चार्ज र संसदीय विभाग प्रमुख, डा राजन भट्टराई विदेश विभाग प्रमुख र प्रवास क्षेत्र इन्चार्ज, विष्णु रिजाललाई विदेश विभाग उपप्रमुख, अग्निप्रसाद खरेल निर्वाचन विभाग प्रमुख र विष्णु प्रसाद रिमाललाई आर्थिक विभाग प्रमुख तथा नेपाल ट्रेड युनियन महासङ्घ इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

सूर्य थापा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख र प्रेस चौतारी नेपालको इन्चार्ज तोकिएका छन् । यसअघि प्रेस चौतारीको इन्चार्ज राजेन्द्र प्रसाद गौतम तोकिएका थिए । गौतम प्रदेश नं १ को सहइन्चार्ज बनेका छन् ।

यसैगरी माधवकुमार नेपाल पक्षीय पार्टीका नेता झलनाथ खनाल, वामदेव गौतम, भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्टले कुनै पनि जिम्मेवारी पाएका छैनन ।

पार्टी कार्यालय सचिवमा तामाङ
यस्तै पार्टी केन्द्रीय कार्यालय सचिवका जिम्मेवारी शेरबहादुर तामाङलाई दिइएको छ । यसअघि उक्त सचिवको जिम्मेवारी ईश्वरी रिजाललाई दिइएको थियो । अहिले रिजाललाई स्कुल विभाग सचिवको जिम्मेवारी दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार