‘व्याख्यात्मक निर्णय’बाट एमसीसी विवाद मिलाउने माओवादीको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अमेरिकी सहायता परियोजना (एमसीसी)बारे पार्टी भित्र देखिएको विवाद तत्काल समाधान गर्ने कसरतमा देखिएको छ । उक्त विवादबारे केन्द्रीय समिति बैठकबाट व्याख्यात्मक घोषणासहित अनुमोदन गर्नेतिर प्रचण्ड अघि बढेका छन् । व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पास भएपछि पार्टीभित्र बढेको विवाद मिलाउन उनले ‘व्याख्यात्मक घोषणा’को विकल्प अघि सारेका हुन् ।

एमसीसी संशोधनबिना पारित गर्न नहुने महाधिवेशन र संसदीय दलको निर्णयका बाबजुत प्रचण्ड अघि बढेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु रुष्ट छन् । माओवादी भित्र श्रेष्ठ सहित स्थायी समितिका सदस्यहरु कृष्णबहादुर महरा, देव गुरुङ, गरिराजमणि पोखरेल र लिलामणि पोखरेलले समेतले एमसीसीको विषयमा फरक मत राखेका थिए ।

श्रेष्ठ लगायतका असन्तुष्ट नेताहरुले शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पनि एमसीसीबारे लिखित असहमति नै दर्ज गरेका छन् । युद्धबाट आएकै धेरै नेताहरु असन्तुष्ट भएपछि र श्रेष्ठले आवश्यक परे पार्टी विभाजनसम्म पुग्ने गरी छुट्टै छलफल चलाएपछि प्रचण्ड दबाबमा परेका थिए । चुनावको मुखमा पार्टी एकता नै धरापमा पर्ने अवस्था आएपछि प्रचण्ड एमसीसीमा ‘मध्यमार्गी विकल्प’ खोजी गर्न बाध्य भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार