ओलीले गरे स्थायी कमिटी पुनर्गठन, पूर्वमाओवादी समेटिए, खनाल-नेपाल समूह परेनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । शुक्रबार बालुवाटारमा आयोजित महाधिवशेन आयोजक समितिको बैठकले एमालेको स्थायी कमिटी पुनर्गठन गरेको हो ।

बैठकले १८ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको छैन ।

पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ्ग, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल छन् । तर पुनर्गठित नयाँ १८ सदस्यीय स्थायी समितिमा एक जना पनि महिला परेका छैनन् ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो । यसअघि एमालेको कमिटीमा खनाल–नेपाल समूहका नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए । उनीहरू कसैलाई पनि कमिटीमा समेटिएको छैन ।

 

 

Loading...