केपी ओलीको दम्भ धरहराभन्दा माथि : माधव नेपाल

अल्पमतमा परेपछि बटुवालाई केन्द्रीय सदस्य बनाएको नेपालको आरोप

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि पुगेको आरोप लगाएका छन् । ओलीसँग बिहीबार भएको भेटले थोरै आश जागेपनि शुक्रबार ‘आफ्नो निर्णय माने मान, नमाने बाटो खुला छ’ भन्ने शैली देखाएको भन्दै उनले केपी ओली पार्टी एकताको पक्षमा नभएको बताए ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेको नेपालले भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँमा माने मान, नमाने बाटो खुला छ भन्‍ने दम्भ छ ।’ उनले अगाडी भने, ‘प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराभन्दा माथि भर्‍याङ उक्लेर चढेको छ, उहाँ हिजो (बिहीबार) धरहरा हेर्दै हुनुहुन्थ्यो । धरहरा हेरेर आफ्नो दम्भ देखाउँदै हुनुहुन्थ्यो । उहाँको दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौ, पार्टी पनि छोडदैनौँ, संघीयता त्याग्दैनौँ ।’

अरुलाई सुन्न तयार नहुने ओलीमा ‘खाए खा नखाए घिच’ प्रवृत्ति हावी नेपालको आरोप थियो । नेपालले भने, ‘ओलीको भड्काउ चिन्तले पार्टी, मुलुक, लोकतन्त्र संकटमा परेको छ । ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा परेको छ ।’

त्यस्तै पार्टीमा आफू अल्पमतमा परेपछि बाटोमा हिँड्नेलाई समातेर ओलीले केन्द्रीय सदस्य बनाएको नेपालको भनाइ थियो । ‘अल्पमत परेपछि ओलीले बाटो हिँड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन्,’ नेपालले भने, ‘बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’

ओलीले फागुन २८ को निर्णय फिर्ता गर्न नमानेकै कारण सहमति नभएको उनले बताए । उनले भने, ‘मैथिलीमा भनिन्छ- मन चङ्गा त कठौतीमा गंगा । तर ओलीको मन नै चङ्गा (शुद्ध) छैन ।’

‘मैले भनेको थिए बालुवा पेलेर तेल निस्किने बेला छैन’,पत्रकार सम्मेलनमा नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छँदै छैन । वामदेवजीले तैपनि पेल्नुस् न एकपटक भनेपछि छलफलमा गयौं । तर, बालुवा पेलेर तेल निस्किनेवाला छैन । केपी ओली सुध्रिनेवाला छैन ।’ ओलीले गरेका निर्णय फिर्ता नलिएसम्म एकीकृत रुपमा जान नसकिने पनि उनको भनाइ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार