भारतको राजधानी दिल्लीमा अक्सिजनको अभाव, अक्सिजन नपाएर ज्यान गुमाउनेको संख्या बढ्दै

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा बिरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजनको अभाव भएको छ ।

अन्य अस्पतालहरुमा पनि केही घन्टाका लागि मात्रै अक्सिजन आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन् । कोरोना महामारीको दोस्रा लहर सुरु भएसँगै भारतका दिल्लीलगायत राज्यहरुमा अक्सिजनको चरम अभाव भएको छ । अस्पताल पुगेका बिरामीले पनि समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको छ ।

अक्सिजन कुर्दाकुर्दै छट्पटाएर जीवन गुमाउनेहरुको कारुणिक दृश्य दिल्लीका अस्पतालहरुमा बढिरहेको छ । अस्पतालका सघन उपचार कक्षका शैयाहरु ९९ प्रतिशत बिरामीले भरिएका छन् । दिल्लीको गंगाराम अस्पतालमा पछिल्लो २४ घण्टामा अक्सिजन नपाएर २५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । भारत दोस्रो लहरको संक्रमणका कारण विश्वमै सबैभन्दा प्रभावित छ । दैनिक संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमण मात्रै होइन दैनिक मृत्युदर पनि विश्वमै भारतको सबैभन्दा उच्च छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्रै २ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ६२ लाख रहेको छ । संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि १ लाख ८७ हजार नजिक पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार