भिजिट भिसामा कडाइ : विदेश जान ५ लाख बैकं ब्यालेन्स र १० लाख वार्षिक आम्दानी हुनु पर्ने

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जानेलाई कडाइ गरेको छ । मानवतस्करी बढेपछि सरकारले यससम्बन्धी नयाँ कार्यविधि बनाई यसमा कडाइ गर्न लागेको हो । अब भिजिट भिसामा विदेश जानेले न्यूनतम पाँच लाख बैंक ब्यालेन्स देखाउनुपर्ने भएको छ ।

भिजिट भिसासम्बन्धी अध्ययन समितिले न्यूनतम वार्षिक आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख भएकालाई मात्र घुम्न विदेश जाने गरी कार्यविधि बनाउन सिफारिस गरेको छ ।

भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाउँदै विभिन्न सुझावहरू दिएको हो । खाडी घुम्न जान खाडीबाहेकका अन्य दुई देश घुमेको ट्राभल हिस्ट्री र वार्षिक न्यूनतम ६ लाख आम्दानी हुने कागजपत्र देखाउनुपर्ने प्रावधान छ ।

गत ११ माघमा गृहका सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन भएको थियो । भिजिट भिसामा विदेश जानेलाई वस्तुगत आधार तयार गर्न समितिले सिफारिस गरेको सहसचिव पोखरेलले बताए । समितिले तयार पारेका उक्त अध्ययन प्रतिवेदनमा टेकेर नयाँ कार्यविधि बनाउन लागिएको छ ।

प्रतिवेदनमा श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत, पारदर्शी र छिटो बनाउने, भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति–संस्थाहरूलाई कानुनी दायरामा ल्याएर जिम्मेवार बनाउन सिफारिस गरिएको छ । योसँगै भिजिट भिसामा विदेश पठाउने र मानवतस्कर गर्ने कार्य रोकिने सरकारको अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार