माओवादीभित्रको विवादमा ‘विप्लव’ प्रवेश

नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ।

संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका छन्। यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपालबीच भएको अनुदान सम्झौता माओवादी केन्द्रका अध्यक्ष दाहालसमेतको अग्रसरतामा प्रतिनिधिसभाबाट अनुमोदन भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

अध्यक्ष दाहालले एमसिसी सम्झौता अनुमोदन गर्न पार्टीले लगाएको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्नुपर्ने, एमसिसी सम्झौताको विपक्षमा रहेका नेता श्रेष्ठ पार्टी छाड्न स्वतन्त्र रहेको र पार्टी छोड्दा वामदेव गौतमको जस्तै हालत हुने भनेपछि विवाद बढेको हो। दाहालको यस भनाइले आफ्नो अपमान भएको श्रेष्ठले बुझेका छन्। माओवादी केन्द्र दलीय रुपमा एमसिसी सम्झौताको पक्षमा उभिएपछि श्रेष्ठलगायत केही नेताले त्यसको विपक्षमा अभिव्यक्ति दिएका थिए।

एमसिसी सम्झौता अनुमोदनको विषयलाई लिएर अध्यक्ष दाहालसँग मतभेद उत्पन्न भएपछि नेता श्रेष्ठले मंगलबार आफूनिकट नेताहरूसँग परामर्श गरेका थिए। उनले मंगलबार नै वामदेव गौतम र झलनाथ खनालसँग पनि छलफल गरेको बताइएको छ तर यसको पुष्टि हुन सकेको छैन। पार्टीभित्र आफूनिकट नेताहरूसँग परामर्श गरेको अर्को दिन श्रेष्ठले विप्लवलाई भेटेर सहकार्यको प्रस्ताव राखेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पनि विचार मिल्ने र राष्ट्रियताको सवालमा मत मिल्नेसँग सहकार्य हुन सक्ने भन्दै त्यसका लागि श्रेष्ठसँग प्रस्ताव गरेको स्रोतले जनाएको छ। विप्लवको सहकार्यको प्रस्तावप्रति श्रेष्ठले सोच्न सक्ने बताएका थिए।

एमसिसी सम्झौता अनुमोदनपछि पार्टी अध्यक्ष दाहालसँग असन्तुष्ट बनेका श्रेष्ठलाई भेट्न विप्लव उनकै निवास हात्तीवन पुगेका थिए। दाहाल र श्रेष्ठबीचको मतभेदले माओवादी केन्द्रभित्र अन्तरसंघर्ष चुलिने संकेत देखिएका बेला त्यसमा खेल्न विप्लवले श्रेष्ठसँग भेट गरेको स्रोतको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार