राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ शनिबार

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण शनिबार हुने भएको छ । संघीय संसद्‍ सचिवालयले सूचना जारी गर्दै नवनिर्वाचित सदस्यको शपथ ग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो ।

शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण समारोह हुँदैछ । गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका छन् । शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ ।

रिक्त २० मध्ये १९ जना निर्वाचित भएका छन् भने एक जनाको मनोनय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् । नयाँ सदस्यको पदावधि ६ वर्षको हुनेछ । अब हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभामा निर्वाचित र मनोनित सबै सदस्यको पदावधि ६ वर्षको हुनेछ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ ।

पहिलो पटक राष्ट्रियसभा सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुनेछ । राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट गरिन्छ । पहिलो बैठकदेखि सम्पूर्ण सदस्यको पदावधि प्रारम्भ भएको मानिनेछ ।

राष्ट्रिय सभाको रिक्त हुन आउने सदस्यको पूर्ति निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो सोही तरिकाले बाँकी अवधिका लागि पूरा गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार