पल शाह प्रकरणमा बोले सेलिब्रेटी, पीडितको पक्षमा उभिए यी अभिनेत्री

एक नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् ।  पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ । यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् । तर, कानुनी दायरामा पुगेको विषयमा जथाभावी बोलेर प्रहरी अनुसन्धानमा प्रभाव पार्न नहुने मत पनि सार्वजनिक भएका छन् ।

तर, आफू प्रहरी नियन्त्रणमा पर्नुअघि आरोपी पलले सार्वजनिक गरेको अडियोका कारण नाबालिका ‘साइबर बुलिङ’को शिकार भइरहेकी भन्दै आवाज पनि उठिरहेको छ ।

नाबालिकाले जाहेरी दिएपछि सामाजिक सञ्जालमार्फत निकै आलोचनासमेत खेप्नु परेको छ । विशेषत फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उनलाई भद्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन । आफूलाई भएको दुर्व्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिइरहेकी उक्त नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहँदा घटनाबारेमा मौनता साँध्ने पनि धेरै छन् ।

विशेषतः फिल्मसँग जोडिएको विधाअन्तर्गत पर्ने सेलिब्रेटीहरूले यसबारे आफ्नो धारणा राख्न सकेका छैनन् । मीटू र जिरो टोलरेन्सजस्ता अभियानमार्फत आफूलाई भएको अन्यायका विरुद्ध आवाज उठाउने केही अभिनेत्रीहरू समेत यी नाबालिकाले जाहेरी दिएपछि खेपिरहेको ‘साइबर बुलिङ’मा मौन छन् ।

नाबालिकाले जाहेरी दिएकै कारण ‘साइबर बुलिङ’ को शिकार हुनुपरेपछि मौनता साँधेको आरोप खेपिरहेका केही अभिनेत्रीहरूले आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।

मंगलबार बिहानै अभिनेत्री रेखा थापाले नाबालिकालाई संरक्षण गर्नुपर्ने दायित्व समाजको भएको बताइन् ।  आफ्नो आधिकारिक फेसबुक पेजमा उनी लेख्छिन्, ‘समाजको दायित्व नाबालिकालाई संरक्षण गर्नु हो । उनको को–कोसँग कस्ता सम्बन्ध थिए ? जस्ता तर्कहिन कुरा गरेर नैतिक मापदण्ड र हिलो छ्याप्ने लज्जाजनक व्यवहार नदेखाउँ ।’

अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिकाको संरक्षण गर्ने जिम्मा राज्यको भएको र आफूहरू पनि राज्यको हिस्सेदार भएकोले दायित्व पूरा गर्ने बताइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नाबालिगको करमै पनि शारीरिक सम्पर्क भएको छ भने त्यसलाई कानुनले बलात्कार मान्ने र कानुनमा यो सम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै नाबालिगको विश्वास तोड्नेको पक्षमा समाज उभिने कल्पना पनि गर्न नसकिने बताएकी छिन् ।

अभिनेत्री सञ्चिता लुइँटेलले आपत्तिजनक भिडियोहरू भाइरल भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । यस्तो कार्यमा बालबालिकालाई पनि प्रयोग गर्नु अझै दुखद् भएको उनको भनाइ छ । कानुनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोस्टहरू बन्द गर्न सञ्चिताले सामाजिक सञ्जालमार्फत आह्वान गरेकी छन् । यसमा उनले प्रहरीको पनि ध्यानाकर्षण गराएकी छन् ।

अर्की अभिनेत्री लक्ष्मी बर्देवाले पनि सामाजिक सञ्जालमार्फत नै कानुनविपरीत कार्य गर्दा सजाय भोग्नु पर्ने उल्लेख गरेकी छिन् । ‘हामीले बुझ्नु पर्छ, कानुनविपरीत क्रियाकलाप गर्दा सजाय भोग्नु पर्छ । प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउनु आफैँमा मुर्खता हो,’ लक्ष्मीले लेखेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार