फागुन २८ गतेको निर्णय फिर्ता नलिएसम्म वामदेवले ओलीलाई साथ नदिने

कुरा नमिलेपछि खाना खाँदाखाँदै उठेर हिँडे गौतम

नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने बताएका छन् । विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङको क्रममा अध्यक्ष ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमले बताएका हुन् ।

गौतमले ओलीसँग भएको कुराकानीको अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको बताएका छन्। गौतमले भने, “हिजो ९ गते क.केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो।”

गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए, जसलाई ओलीले अश्वीकार गरेका थिए । आफूले ओलीसँग बैठकमा आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ छ । गौतमले भने,”त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए ।”

विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङ भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गरेका थिए ।

गत फागुन २८ गतेको बैठकबाट ओली पक्षले आफू पक्षीय नेताहरुलाई जिम्मेवारी दिएर पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको थियो। सोही बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन समेत गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार