तीन सय दुई नेपालीले छाडे युद्धग्रस्त मुलुक युक्रेन, कहाँ पुगे ?

युद्धग्रस्त मुलुक युक्रेनको राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् ।

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् ।

यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीसँग सम्पर्क रहेको जानकारी दिए ।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । पश्चिमी मुलुकले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीमा समेत संसय थपिएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए । एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफैँ खटिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार