प्रचण्ड-नारायणकाजी भेटमा के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनकै निवास पुगेका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलाई लिएर असन्तुष्ट बनेका नेता श्रेष्ठलाई भेट्न अध्यक्ष ‘प्रचण्ड’ मंगलबार श्रेष्ठ निवास हात्तीवन पुगेका थिए ।

भेटमा प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा विमति राखेका श्रेष्ठसँग मिलेरै अघि बढ्न प्रस्ताव गरेका छन् । जवाफमा श्रेष्ठले पनि आफूहरु छुट्टिने निष्कर्षमै भने नपुगेको बताएका छन् ।

आफूले कुनै प्रसंगमा भनेको विषयलाई लिएर अन्यथा नठान्न र कुनै नयाँ निर्णय नगर्नसमेत प्रचण्डले श्रेष्ठलाई भनेका थिए ।

एमसीसी राष्ट्रघाती भन्दै पार्टी निर्णयविरुद्ध सार्वजनिक फोरम र सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएपछि प्रचण्डले सोमबार नारायणकाजीको कडा आलोचना गरेका थिए । एमसीसीकै कारण पार्टी छोड्न खोजे आफूले जबर्जस्ती नरोक्ने उनले बताएका थिए । उनले सस्तो लोकप्रियता पछाडि नलाग्न श्रेष्ठलाई आग्रह समेत गरेका थिए ।

तर यो कुरालाई नारायणकाजीले सिरियस्ली लिएर पार्टी छोड्ने तयारी गरेपछि फकाउन प्रचण्ड उनको निवास पुगेका हुन् ।

सम्बन्धित समाचार