सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । मृतक महिला पाँचथरको मिक्लाजुङ गाउँपालिका- १ घर भई हाल इटहरी- ५ जनताबस्तीमा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङ रहेको प्रहरीले जनाएको छ ।
दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको मंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै बसेका पुरुष फरार छन् । महिलाको अनुहारमा चोट देखिएकोले उनले हत्या गरेर भागेको हुनसक्ने आशङ्का प्रहरीको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए । उनले भने, ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै छ । इटहरीमा डेरा गरी बस्ने रहेछ । श्रीमान् ब्रुनाईमा छन् । केटाको पनि पहिचान गर्ने काम हुँदै छ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ ।’
मृतकको ब्यागमा भेटिएका कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ ।