नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन् ।
प्रचण्ड मंगलबार अपराह्न श्रेष्ठको निवास गएको उनको सचिवालयले जनाएको छ । एमसीसी राष्ट्रघाती भन्दै पार्टी निर्णयविरुद्ध सार्वजनिक फोरम र सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएपछि प्रचण्डले सोमबार नारायणकाजीको कडा आलोचना गरेका थिए । एमसीसीकै कारण पार्टी छोड्न खोजे आफूले जबर्जस्ती नरोक्ने उनले बताएका थिए । उनले सस्तो लोकप्रियता पछाडि नलाग्न श्रेष्ठलाई आग्रह समेत गरेका थिए ।
तर यो कुरालाई नारायणकाजीले सिरियस्ली लिएर पार्टी छोड्ने तयारी गरेपछि फकाउन प्रचण्ड उनको निवास पुगेको स्रोतले बतायो । व्याख्यात्मक घोषणालाई षडयन्त्र भन्दै एमसीसी अनुमोदन भएको दिनलाई कालो दिन भनेर आलोचना गरेका नारायणकाजीले प्रचण्डको जवाफपछि विषम परिस्थिति आयो भन्दै एमसीसी विरोधी कित्तामा रहेका नेताहरुसँग अनौपचारिक छलफल थालेका थिए ।
यसको जानकारी पाएपछि प्रचण्ड नारायणकाजीको निवास पुगेका हुन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार पार्टीको आन्तरिक राजनीतिक, सांगठनिक सुदृढीकरणलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष हात्तीवनस्थित श्रेष्ठ निवास पुगेका हुन् ।