माधव नेपाल भन्छन्- हामी सभामुखको पक्षमा छौं, घुँडा टेक्ने कुरा केपी ओलीले नचिताए हुन्छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको पक्षमा उभिने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखमाथि महाअभियोग ल्याउन सक्ने चेतावनी दिएपछि नेपालले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको बताएका हुन् ।

‘सभामुखको पक्षमा हामी दृढताका साथ उभिन्छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘सभामुखले राजीनामा दिने, घुँडा टेक्ने केपी ओलीका सामु ? नचिताए हुन्छ । हामी उहाँको पक्षमा दृढताका साथ उभिन्छौं ।’

उनले आफ्नो पार्टी संसदको गरिमा जोगाउने सभामुख सापकोटाको पक्षमा उभिने बताए । ‘जुन सभामुखले संसदको गरिमाको रक्षा गरिरहनु भएको छ, सांसदको अधिकारको रक्षा गर्नु भएको छ, उसमाथि धारेहात लगाउने ?,’ नेपालको प्रश्न छ, ‘आरोप लगाउने ? त्यस्तो दुष्चेष्ठा गर्ने ? अपमानपूर्ण व्यवहार गर्ने ? सभामुखको गरिमाको रक्षा नगर्ने ? केपी ओलीको यो प्रवृत्ति अत्यन्तै असभ्य हो ।’

एमसीसीबारे देखिएको विवाद र आशंका घोषणापत्रले निवारण गरेको दाबी गरेका उनले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित समाचार