धरानको एक होटलमा महिलाको शव फेला

सँगै बसेका पुरुष फरार

सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’को एक कोठामा महिलाको शव फेला परेको छ ।

आज बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सोमबार बेलुकासम्म महिला र एक पुरुषसँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन । महिलाको शरीरमा चोट पटक लागेको देखिएको र सँगै रहेका पुरुष फरार रहेका कारण महिलाको हत्या भएको हुनसक्ने प्रहरी उपरीक्षक थापाले बताए । घटनाको विषयमा अनुसन्धान भइरहको छ भने महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ती महिला बसेको कोठामा सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । परिचय पत्रका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ । महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शङ्कास्पद रहेको प्रहरी उपरीक्षक थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार