भ्रष्टाचारको मुद्दा परेपछि बागलुङ नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बित
उपप्रमुख खड्कासहित ८ जनामाथि मुद्दा दायर
भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि बागलुङ नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बनमा परेका छन् ।
बागलुङ बसपार्क निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, वडा नं. ४ का वडाध्यक्ष धुव्र बहादुर केसी, तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेल, इन्जिनियर मनोज शर्मा र सब इन्जिनियर घनश्याम रिजाल निलम्बनमा परेका हुन् । अख्तियारले उपप्रमुख खड्कासहित ८ जनामाथि भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको थियो ।
मुद्दा परेपछि अख्तियारले पत्र पठाएर उनीहरूलाई कारबाही गर्नु भन्ने जानकारी गराएपछि उपप्रमुख खड्काले चढ्ने गरेको जिप, इन्जिनियरले चढेका मोटरसाइकल, उनीहरूले प्रयोग गरेका ल्यापटप लगायतका सामाग्री पनि फिर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए। अख्तियारले पत्र पठाएर कारबाहीमा साथ दिनु भनेकोले सोही अनुसार काम भइरहेको उनको भनाइ छ।
बागलुङ बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, काम गरेको स्थानमा पनि डोजरको हाजिरी देखाएको लगायतका विषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
बसपार्क निर्माणकै क्रममा बागलुङ नगरपालिकाले ठेक्का दिइसकेको स्थानमा उपभोक्ता समितिमार्फत पनि दुई वर्षसम्म १०/१० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटले गर्नुपर्ने काम नियमसंगत नभएकोले बसपार्क निर्माण समितिका अध्यक्ष सुवासकुमार राजभण्डारी, सचिव गुणनिधि शर्मा र कोषाध्यक्ष भीमकुमारी आचार्यका विरुद्धमा पनि मुद्दा परेको छ ।