नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी ‘सन्तोष’लाई हराएका हुन् । चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् ।
कुल खसेको २१० मध्ये चौधरीले ११४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी धामीले ९३ मत पाए । प्रदेश सम्मेलनबाट चयन भएका प्रदेश कमिटीका सदस्यहरूले मतदान प्रक्रियामार्फत माओवादी केन्द्रको नेतृत्वको टुङ्गो लगाएका हुन् ।
त्यस्तै, उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् । सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद ‘राजेन्द्र’ रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए । कोषाध्यक्षमा कमलकुमारी शाह (शाही) विजयी भएकी छन् ।
माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनकाे तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएकाे हाे ।