चैत १५ अघि नै कर्मचारी सरुवा र पदस्थापन गर्न निर्वाचन आयोगकाे निर्देशन

निर्वाचन आयोगले आगामी चैत १५ गतेअघि संघ प्रदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तो स्थानमा स्वीकृत दरबन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा र पदस्थापन गरिसक्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सोमबार बसेको आयोगको बैठकले सरकारलाई २३ बुँदे निर्देशन दिएको छ । यसैगरी, चैत १५ अगावै संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीको तह र पदनाम बमोजिम सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।

स्थानीय प्रशासनको भूमिका प्रधावकारी बनाउन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीहरु चैत १५ अघि नै पदस्थापन र सरुवा गर्न निर्देशनसमेत आयोगको निर्देशन छ । स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थाप पनि चैत १५ अघि नै गर्न पनि आयोगले निर्देशन दिएको छ ।

त्यस्तै, आयोगले निर्वाचनको लागि आवश्यक मत्रपत्र छपाइ गर्न कागज खरिदका लागि बोलपत्र बमोजिम न्यूनतम कबोल गर्ने स्प्लायर्ससँग खरिद सम्झौता गरेको छ । त्यस्तै, निर्वाचनका लागि मतदानकेन्द्रमा आवश्यक हुने विभिन्न सामग्रीहरु मध्ये प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुबाट खरिद गरिने १५ प्रकारका सामग्रीहरुको खरिद व्यवस्थापन गर्न सम्बन्धित सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

यसैगरी, आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल आयोगमा दर्ता भएका छन् । फागुन ५ देखि १५ गतेभित्र ८० राजनीतिक दल आयोगमा दर्ता भएका हुन् । दल दर्ताका लागि परेको निवेदनमाथि अध्ययन गरेर नाम सार्वजनिक गर्ने आयोगले जनाएको छ । साथै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलको सङ्ख्या १११ पुगेको छ ।

सम्बन्धित समाचार