रेलसम्बन्धी अध्यादेश निष्क्रिय, औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन

जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन भएको छ । गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ ।

ड्राई रनको सफलतापश्चात् यसै महिनाको दोस्रो साताभित्र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरिने तयारी गरिरहेका थियौँ, नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, उद्घाटन गरेर मात्र हुँदैन । रेल सेवा सञ्चालन गर्न कानुन चाहिन्छ ।

कानुन (अध्यादेश) निष्क्रिय भएकाले तत्काल यात्रुसहित रेल सञ्चालन गर्न नसकिने जानकारी दिए । पुनः कानुनको व्यवस्था भएमा उद्घाटनको मिति तय गरिने उनले बताए । रेल सेवा सञ्चालन गर्न प्राविधिक हिसाबले सबै थोक ठीक रहेको बताउँदै, ‘कानुन अभावमा रेल सञ्चालन गरिएको खण्डमा घटना दुर्घटना भयो भने धेरै समस्या आउन सक्छ’ उनले भने ।

सङ्घीय सदनको बसेको बैठकमा ६० दिनभित्र अध्यादेश सदनमा पेस गरिसक्ने कानुनी प्रावधान रहेको छ । यस अवधिभित्र रेल अध्यादेश २०७८ पेस नभएका कारण स्वतः निष्क्रिय भएको महाप्रबन्धक झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार