बन्दकर्ताहरुले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । आदेश जारी भएसँगै प्रहरीले अहिले माइकिङ सुरु गरेको छ ।
एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका छन् भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको छ ।