बादलको ठाउँमा जेठ ६ गते राष्ट्रियसभा उपनिर्वाचन हुने

राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूहतर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको हो । वागमती प्रदेशबाट निर्वाचित सांसद थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो । राष्ट्रियसभाको रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण बिहीबारदेखि नै उपनिर्वाचनको तयारी शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि गत आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद रिक्त गरेका थिए ।

Loading...