रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : राष्ट्रपति जेलेन्स्किी

युक्रेनको राजधानी सहर किभलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि सरकार कत्ति पनि नडगमगाएको र राष्ट्रपति जेलेन्स्किी भोलोदिमिरको पकडमा रहेको बताइएको छ । युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तरपूर्वी सहर खार्किभमा लडिरहेको राष्ट्रपति जेलेन्स्किीले बताएका छन् ।

‘अतिक्रमणकारीहरुले  हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ राष्ट्रपतिले भने, ‘हामीले उनीहरूको योजना तोड्यौं ।’ रूसी सेनाले किभलाई घेरा हालेपछि सरकारले त्यहाँका स्थानीयलाई घरभित्रै बस्न भनेको छ ।

रुसी हमलामा अहिलेसम्म २४० सर्वसाधारणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । युक्रेनले सर्वसाधारणसहित आफ्ना १३७ जनाको मृत्यु भएको  पुष्टि गरेकाे छ । रुसी सेनातर्फ भएको हताहतबारे मस्कोले अहिलेसम्म केही उल्लेख गरेको छैन् ।

रुसी क्षेप्यास्त्रले राजधानीबाट केही किलोमिटर टाढा रहेको सहरको एउटा तेल डिपोमा हमला गरेका छन् । अहिले डिपोबाट निस्किएको विषाक्त धुँवाबाट वरपरको वातावरण प्रदूषित भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

रुसी हमला सुरु भएपछि राजधानीका मानिसहरु रातभर अन्डरग्राउन्ड आश्रयमा बिताएका छन् । -एजेन्सी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार