जर्मनीले युक्रेनलाई हतियार सहयोग गर्ने, रुसलाई स्विफ्ट बैङ्किङ प्रणालीबाट अलग गरिने

जर्मनीले युक्रेनलाई हतियार उपलब्ध गराउने भएको छ । जर्मनीले एउटा एन्टीट्याङ्क अस्त्र र ५०० क्षेप्यास्त्र उपलब्ध गराउने भएको चान्सलर ओलाफ सोल्सले बताएका छन् । चान्सलर सोल्सले युक्रेनविरुद्धको रुसी हमला एउटा प्रस्थानविन्दु भएको उल्लेख गर्दै सहयोग गर्ने भएको जानकारी दिए।

जर्मनीले द्वन्द्व प्रभावित क्षेत्रमा आफ्नो देशमा निर्मित अस्त्र पठाउन लगाइएका कतिपय रोक पनि हटाएको छ जसको अर्थ तेस्रो देशहरूले पनि युक्रेनमा थप हतियारहरू पठाउन सक्छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई नेटो साझेदारहरूका मद्दतबाट सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता यसअघि जनाएका थिए।

यसै हप्ताको सुरुमा रुसी साइबर हमलासँग प्रतिरक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अस्ट्रेलियाले सैनिक सामग्री र स्वास्थ्य उपकरण पनि उपलब्ध गराउने जनाएको छ।

यस्तै अमेरिका, क्यानडा र ब्रिटेनसमेत आबद्ध पश्चिमा देशहरूको गठबन्धनले रुसी बैँकहरूलाई स्वीफ्ट नामक अन्तर बैंकिङ कारोबार प्रणालीबाट अलग गर्ने निर्णय गरेका छन् । रुसविरुद्ध कडा कदमहरू चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु भएको बताइन्।

उनले रुसी बैँकहरूलाई स्वीफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने उल्लेख गरिन्। यस्तै रुसी केन्द्रीय बैँकलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज पनि लगाइने भएको छ। बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार