बालकोट जाने योजना रद्द गरेर बालुवाटारमा प्रचण्ड-नेपालसँग देउवा

सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन् । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुन: एक पटक छलफलमा जुटेका छन् ।

आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जाने भनेका प्रधानमन्त्री देउवा बालकोट नगई गठबन्धनका नेताहरुसँग छलफलमा जुटेका हुन् ।

सरकारमै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले परिमार्जन र संशोधन नगरी एमसीसी अनुमोदन गर्न नसकिने अडान लिइरहेका छन् ।सत्ता गठबन्धनमै सहमति नजुटी अनुमोदनका लागि संसदमा एमसीसी पेस गर्दा पास नहुने देखेर प्रधानमन्त्री देउवाले बिहीबार र शुक्रबार दुवै दिन अन्तिममा प्रतिनिधि सभाको बैठक स्थगन गरे ।

त्यसयता प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँगको छलफललाई तिव्रता दिइरहेका छन् । आज पनि बालकोटस्थित एमाले अध्यक्ष केपी शर्माको ओलीको निवासमा कांग्रेस र एमालेका नेताहरुबिच छलफल भएको थियो । नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार