कांग्रेस-एमाले नेताहरुबीचको बैठक बिना निष्कर्ष सकियो

नेताहरु आ-आफ्नै अडानमा

नेकपा (एमाले) र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्ता बिना निष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुवै  दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।

बैठकमा कांग्रेस नेताहरुले प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने प्रस्ताव गरेका थिए भने एमालेले संसदमा आफूहरु उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको भएको जवाफ दिएको थियो । कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सदनको अवरोध हटाउन र एमसीसी पास गर्नका लागि प्रस्ताव गरेको तर एमालेले स्वीकार नगरेको जानकारी दिए । प्रतिनिधिसभाको ढोका नखोजेको र यसको जिम्मेवारी सरकारको भएको जवाफ एमालेबाट आएको उनले बताए ।

त्यस्तै एमाले महासचिव शंकर पोखरेलले संसदभित्र सभामुखको भूमिकालाई लिएर एमालेले राखेको माग सुनुवाई नभएसम्म अन्य प्रक्रियामा एमालेको सहभागीता नहुने बताए । उनले एमसीसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने बताए । उनले सरकारले र सत्ता गठबन्धनको धारणा नआएसम्म प्रतिपक्षको धारणाको अर्थ नहुने बताए ।

दुवै दलका नेताहरुले सहमतिको प्रयास स्वरुप छलफललाई निरन्तरता दिने जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार