डिफेन्डिङ च्याम्पियन मछिन्द्रले अपराजित रहँदै सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७८ को ट्रफी उचालेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबारको अन्तिम खेलमा एपीएफलाई २4-१ ले पराजित गरेको हो । एपीएफको भने ९ खेलको अपराजित यात्रा शनिबार नै टुंगियो ।
यो जितका बाबजुत लगातार ११ खेल कुनै गोल नखाएको मछिन्द्रविरुद्ध एपीएफ एक गोल फर्काउन भने सफल रह्यो । यो नतिजापछि मछिन्द्रको ३५ अंक भएको छ । उसले लिगका १३ चरणका खेलमध्ये कुनैमा पनि हार बेहोरेन र एपीएफलाई हराएर लगातार आठौं जित निकाल्न सफल रह्यो ।
खेल बराबरीतर्फ अग्रसर रहेको स्थितिमा रेजिनले ८१ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । यसअघि मछिन्द्रका लागि अभिषेक गुरुङले ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए तर प्रदीप लामाले ६८ औं मिनेटमा एपीएफका लागि बराबरी गोल फर्काए ।
खेलको अन्तिम दुई मिनेट दुवै खेलाडी १० खेलाडीमा सीमित रहे । मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे ।
च्याम्पियन मछिन्द्रले लिग उपाधिसँगै नगद ७५ लाख रुपैयाँसमेत जितेको छ । शनिबारै भएको खेलमा मनाङ मर्स्याङ्दीसँग १-१ को बराबरी खेल्दै त्रिभुवन आर्मी एफसीले दोस्रो स्थानमा लिग अन्त्य गर्दै ५० लाख रुपैयाँ पक्का गर्यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३4-१ ले हराएर तेस्रो भयो । एनआरटीले २५ लाख हात पार्यो ।
मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन् । तीन जनाले मनाङ मर्स्याङ्दीबाट दुई र मछिन्द्रबाट दुई पटक लिग जितेका हुन् ।