अमेरिकासँगको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छलफलमा थिए।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत नेता सहभागी थिए । उपसभापति खड्का र महामन्त्री थापा शनिबार अपरान्ह ४ बजे नै ओली निवास पुगेका थिए ।
सत्ता गठबन्धनमा एमसीसीका विषयमा मतभेद भएपछि प्रधानमन्त्री देउवा विपक्षी दलसँगको सहकार्यको प्रयासमा छन् । कांग्रेस–एमाले सहकार्यको बाटो खोज्न नेताहरू निरन्तर संवादमा छन् । शुक्रबार राति पनि प्रधानमन्त्री देउवा र एमालेका नेताहरूबीच छलफल भएको थियो ।