रुसले युक्रेनमा किन आक्रमण गर्‍यो, पुटिन के चाहन्छन् ?

रुसले चार करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली लोकतान्त्रिक मुलुक युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमण गरेको छ। महिनौँसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त छिमेकीमाथि आक्रमण गर्न लागेको कुरालाई अस्वीकार गरेका थिए।

तर उनले युक्रेनको उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै शान्ति सम्झौता भङ्ग गरे। मृतकको सङ्ख्या बढ्दै जाँदा उनीमाथि युरोपमा शान्ति भङ्ग गरेको आरोप लागेको छ र अब त्यसले महादेशको सम्पूर्ण सुरक्षा संरचनालाई खतरामा पार्न सक्छ।

रुसी सेनाले कहाँ र किन आक्रमण गरे?
किएभस्थित बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थलसहित युक्रेनका सहरनजिकै अवस्थित विमानस्थल र सैन्य मुख्यालयमा सबैभन्दा पहिले आक्रमण भयो। त्यसपछि ट्याङ्क र सैनिकहरू पूर्वोत्तर युक्रेनभरि प्रवेश गरे।

उनीहरू पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसङ्ख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरे। प्यारासूटको सहाराले झर्ने सैनिकहरूको समूहले किएभनजिकैको एउटा प्रमुख हवाई शिविर कब्जा गरे।

रुसी सैनिकहरू युक्रेनका ठूला बन्दरगाह सहरहरू ओडेसा र मारिऊपोलमा पनि अवतरण गरे। आक्रमण सुरु हुनु केहीअघि राष्ट्रपति पुटिनले टेलिभिजनमा सम्बोधन गरे।

पृथकतावादी रहेको क्षेत्र
त्यसक्रममा उनले आधुनिक युक्रेनबाट लगातार भइरहेको खतराका कारण रुसले “सुरक्षित, विकसित र अस्तित्वमा रहेको” महसुस गर्न नसकिरहेको बताए। उनका धेरै तर्क मिथ्या वा असङ्गत थिए। उनले आफ्नो लक्ष्य ‘दुर्व्यवहार र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउनु’ रहेको दाबी गरेका थिए। पुटिनका भनाइमा उनी युक्रेनको “असैनिकीकरण र गैर-नात्सीकरण” गर्न चाहन्छन्।

युक्रेनमा कुनै नरसंहार भएको छैन। यो एउटा जीवन्त लोकतन्त्र हो र त्यहाँ निर्वाचित यहुदी राष्ट्रपतिले देशको नेतृत्व गर्छन्। “म कसरी नात्सी हुनसक्छु,” युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने।

अझ उनले त रुसी आक्रमणलाई दोस्रो विश्वयुद्धका बेला नात्सी जर्मनीको आक्रमणसँग तुलना गरेका छन्। राष्ट्रपति पुटिनले युक्रेनलाई चरमपन्थीहरूले कब्जा गरेको आरोप लगाउँदै आएका छन्। सन् २०१४ मा रुस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई महिनौँको विरोध प्रदर्शनबाट हटाएपछि पुटिनले यस्तो आरोप लगाएका हुन्।

त्यसपछि रुसले दक्षिणी क्षेत्र क्राइमिया कब्जा गरेर र पूर्वमा पृथक्तावादीहरूलाई समर्थन गर्दै विद्रोह सुरु गराएर त्यसको बदला लियो। उक्त लडाइँमा १४ हजारको ज्यान गइसकेको छ। सन् २०२१ को अन्त्यतिर राष्ट्रपति पुटिनले युक्रेनी सीमा क्षेत्रमा ठूलो मात्रामा सेनाहरू तैनाथ गर्न थाले।

अनि यसै साता उनले सन् २०१५ मा पूर्वी क्षेत्रका लागि भएको एउटा शान्ति सम्झौतालाई अन्त्य गर्दै विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई स्वतन्त्र मुलुकहरूको मान्यता दिए।

रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ। आक्रमणको घोषणा गर्दै पुटिनले नेटोलाई “राष्ट्रको रूपमा आफ्नो ऐतिहासिक भविष्य”लाई धम्की दिएको आरोप लगाएका छन्।

रुस कतिसम्म अघि जान सक्छ?
रुसले युक्रेनको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई हटाउन खोजेको भन्ने कुरालाई अस्वीकार गरेको छ। तर उसले युक्रेनलाई “नात्सीहरूबाट मुक्त गर्नुपर्छ” भन्नेमा विश्वास गर्छ। पुटिनले “नागरिकविरुद्ध रक्तपातपूर्ण अपराध गर्नेलाई” अदालतमा उपस्थित गराउने कुरा पनि गर्ने गर्छन्। आक्रमण अघिका दिनहरूमा दुई लाख सैनिकहरू युक्रेनको सिमानाको पहुँच भित्र रहेका बेला उनले आफ्नो ध्यान पूर्वी क्षेत्रमा केन्द्रित गरेका थिए।

लुह्यान्स्क र डोनेट्स्कका रुस समर्थित पृथक्तावादी क्षेत्रलाई स्वतन्त्र देशका रूपमा मान्यता दिएर पुटिनले पहिले नै ती क्षेत्र अब युक्रेनको हिस्सा नरहने निर्णय गरिसकेका थिए। त्यसपछि उनले धेरै युक्रेनी क्षेत्रहरूमा उनीहरूको दाबीलाई समर्थन गरे।

स्वघोषित जनवादी गणतन्त्रहरूले युक्रेनका लुह्यान्स्क र डोनेट्स्क क्षेत्रका एकतिहाइभन्दा अलि बढी भाग ओगटेका छन् तर विद्रोहीहरू बाँकी भागहरूको पनि लोभ गर्छन्।

युरोपका लागि यो आक्रमण कति खतरनाक?
यो युक्रेनीहरू र युरोपेली महाद्वीपका बाँकी क्षेत्रका लागि पनि डरलाग्दो समय हो। दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै पनि ठूलो शक्तिले छिमेकीमाथि यस्तो आक्रमण गरेको पनि पहिलो पटक हो। जर्मनीले “पुटिनको युद्ध” भन्ने गरेको यो लडाइँमा अहिले नै सैनिक र गैरसैनिक गरी कैयौँको मृत्यु भइसकेको छ।

यो आक्रमणले युरोपका नेताहरूका लागि सन् १९४० यताकै सबैभन्दा खराब क्षणमा पुर्‍याएको छ। दुवै सशस्त्र सेनाका परिवारका लागि आगामी दिनहरू चिन्ताजनक हुनेछन्।

युक्रेनीहरूले पहिले नै रुस समर्थित विद्रोहीहरूसँग आठ वर्षको भीषण युद्धको सामना गरिसकेका छन्। सेनाले १८ देखि ६० वर्षसम्मका सबै ‘रिजर्भ’मा राखिएका व्यक्तिहरूलाई बोलाएको छ।वरिष्ठ अमेरिकी सैन्य अधिकारी मार्क मिलीका भनाइमा रुसी सेनाको सङ्ख्याका हिसाबले घना सहरी क्षेत्रको दृष्य “भयानक” हुनेछ।

आक्रमणले रुस र युक्रेन दुवै देशका सीमामा रहेका अन्य धेरै मुलुकहरूमा पनि प्रभाव पारेको छ। लाट्भिया, पोल्यान्ड र मोल्डोभाले शरणार्थीहरूको ठूलो आगमनका लागि तयारी गरिरहेको बताएका छन्।

लिथुआनिया र मोल्डोभामा आपत्कालीन अवस्था घोषणा गरिएको छ। त्यहाँ हजारौँ महिला र बालबालिका पहिले नै प्रवेश गरिसकेका छन्।

यो युद्धका लागि रुसी जनसङ्ख्या पनि तयार थिएन किनकि आक्रमणलाई संसद्को ठूलो मात्रामा प्रतिनिधि नभएको माथिल्लो सदनले अनुमोदन गरिदिएको थियो।

पश्चिमले के गर्न सक्छ?
नेटोले लडाकु विमान तयारी अवस्थामा राखेको भए पनि पश्चिमी साझेदारहरूले आफूहरूले सशस्त्र सैनिकहरू युक्रेनभित्र नपठाउने स्पष्ट पारिसकेका छन्। त्यसको साटो उनीहरूले सल्लाहकारहरू, हतियारहरू र फील्ड अस्पतालका लागि सहयोग गर्ने भनेका छन्। यसैबेला ५,००० नेटो सैनिकहरू बाल्टिक देश पोल्यान्डमा खटिएका छन्। थप ४,००० सैनिकहरू रोमानिया, बल्गेरिया, हङ्गेरी र स्लोभाकियामा पठाइनेछ। यद्यपि पश्चिमले रुसको अर्थतन्त्र, उद्योग र व्यक्तिहरूलाई निसानामा पारेको छ।

ईयूले पुँजी बजारमा रुसी पहुँचलाई प्रतिबन्ध लगाउने र उसका उद्योगलाई नवीनतम प्रविधिमा जोड्ने प्रक्रियाबाट हटाउने वाचा गरेको छ। ईयूले रुसले विद्रोही नियन्त्रित युक्रेनी क्षेत्रलाई मान्यता दिने कुराको समर्थन गर्ने ३५१ जना सांसदमाथि प्रतिबन्ध लगाइसकेको छ।

जर्मनीले रुस र युरोपेली कम्पनीहरू दुवैको ठूलो लगानी भएको रुसको नोर्ड स्ट्रीम टू ग्यास पाइपलाइनको अनुमोदनलाई रोकिदिएको छ। अमेरिकाले रुसी सरकारलाई पश्चिमी वित्तीय संस्थाबाट अलग गरिदिने र उच्च श्रेणीका “कुलीनहरू”लाई लक्षित गर्ने बताएको छ।

ब्रिटेनले सबै प्रमुख रुसी ब्याङ्कहरूको सम्पत्ति रोक्का गर्ने बताएको छ। त्यसमा १०० व्यक्ति र संस्था लक्षित छन् अनि रुसको राष्ट्रिय ध्वजावाहक विमानलाई पनि ब्रिटेनमा अवतरण गर्न प्रतिबन्ध लगाइनेछ।

युक्रेनले आफ्ना साझेदारलाई रुसी तेल र ग्यास खरिद नगर्न आग्रह गरेको छ। तीनवटा बाल्टिक देशले अन्तर्राष्ट्रिय स्विफ्ट भुक्तानी प्रणालीबाट रुसी ब्याङ्किङ प्रणाली विच्छेद गरिदिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।त्यसले अमेरिका र युरोपेली अर्थतन्त्रलाई नराम्रो असर पार्न सक्छ।

रुसी सहर सेन्ट पिटर्सबर्गले सुरक्षाका कारणले यस वर्षको च्याम्पियन्स लिगको फाइनल खेल आयोजना गर्न नपाउने भएको छ। युरोपेली फुटबलको प्रशासकीय निकायले पनि थप प्रतिबन्ध लगाउने योजना बनाएको छ।

पुटिन के चाहन्छन्?
राष्ट्रपति पुटिनले आंशिक रूपमा नेटोको पूर्वतर्फको विस्तारलाई आक्रमणको कारणको रूपमा दोष दिएका छन्। युक्रेनले नेटोमा सामेल हुनको लागि उपयुक्त समय पर्खिरहेको छ।

रुसी उपविदेशमन्त्रीले युक्रेन कहिल्यै नेटोको सदस्य नबनोस् भन्ने सुनिश्चित गर्नु आफ्ना लागि अनिवार्य भएको बताइसकेका छन्। गत वर्ष राष्ट्रपति पुटिनले रुसी र युक्रेनीहरूलाई “एउटै राष्ट्र” भनेर वर्णन गर्दै लामो लेख लेखेका थिए।

उनले त्यसमा डिसेम्बर १९९१ मा भएको सोभियत सङ्घको पतनलाई “ऐतिहासिक रुसको विघटन” भनेर वर्णन गरेका थिए। उनले आधुनिक युक्रेनलाई पूर्ण रूपमा कम्युनिस्ट रुसले बनाएको र अहिले पश्चिम नियन्त्रित कठपुतली राज्य भएको दाबी गरेका थिए।राष्ट्रपति पुटिनले युक्रेन नेटोमा सामेल भएमा गठबन्धनले क्राइमियालाई पुनः कब्जा गर्ने प्रयास गर्न सक्ने पनि तर्क गरेका छन्।

तर रुस युक्रेनमा मात्र केन्द्रित छैन र उसले नेटोलाई सन् १९९७ भन्दा अघिको सीमामा फर्किनुपर्ने माग गर्दै आएको छ। पुटिन सन् १९९७ देखि नेटो गठबन्धनमा सामेल भएका सदस्यराष्ट्रले आफ्ना सेना र सैन्य पूर्वाधार हटाउन तथा “रुसको सिमानानजिक घातक हतियारहरू” तैनाथ नगरून् भन्ने चाहन्छन्।

ती भनेका मध्य र पूर्वी युरोप तथा बाल्टिक क्षेत्र हुन्। राष्ट्रपति पुटिनको दृष्टिमा पश्चिमले सन् १९९७ मा नेटोलाई “पूर्वमा एक इन्च पनि विस्तार नगर्ने” भनेर प्रतिज्ञा गरेको थियो। तर उसले त्यस्तो विस्तार जारी राख्यो। त्यो सोभियत सङ्घको पतन हुनुअघिको कुरा हो।

यद्यपि तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभसँग गरिएको वाचामा दुई जर्मनी एक हुने सन्दर्भमा पूर्वी जर्मनीलाई मात्र उल्लेख गरिएको थियो। तर गोर्भाचोभले पछि भनेका थिए, “नेटो विस्तारको विषयमा त्यस बेला छलफलै भएको थिएन।”

नेटो के भन्छ?
नेटो नयाँ सदस्यका लागि ढोका खुला भएको एउटा रक्षात्मक सैन्य गठबन्धन हो। नेटोको ३० सदस्य बनेका ३० राष्ट्र त्यसमा परिवर्तन नहुनेमा अडिग छन्। जर्मनीका चान्सलरले युक्रेन लामो समयसम्म नेटोमा सामेल हुने सम्भावना नरहेको स्पष्ट पारिसकेका छन्। तर कुनै पनि हालको नेटो देशले आफ्नो सदस्यता त्याग्ने विचार पूरा हुने सम्भावना नभएको कुरा हो।

समाधानको कूटनीतिक बाटो बाँकी छ?
अहिलेको लागि छैन तर कुनै पनि अन्तिम सम्झौताका क्रममा पूर्वको युद्ध र हतियार नियन्त्रण दुवैलाई सम्बोधन गर्नुपर्ने हुन्छ। अमेरिकाले छोटो र मध्यम दूरीका क्षेप्यास्त्रहरूलाई सीमित पार्ने र अन्तरमहादेशीय क्षेप्यास्त्रसम्बन्धी नयाँ सन्धिमा वार्ता सुरु गर्ने प्रस्ताव गरेको थियो।

रुसले चाहिँ सबै अमेरिकी आणविक हतियारहरू उनीहरूको राष्ट्रिय क्षेत्रबाहिरबाट प्रतिबन्धित गर्न चाहेको थियो। रुस दुईवटा आफ्नो देशमा रहेका र रोमानिया तथा पोल्यान्डमा रहेका अन्य एक-एकवटा क्षेप्यास्त्रका आधारहरूलाई पारस्परिक रूपमा “पारदर्शिता संयन्त्र”बाट जाँच गर्ने कुराप्रति सकारात्मक थियो। बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार