वीरगञ्ज र पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा सरोजरोशन दासले जानकारी दिए । उनले यही वैशाख ३ गते नै सङ्क्रमण पुष्टि भएर महिलालाई होम क्यारेन्टिनमा राखिएको भए पनि स्वास्थ्यावस्था बिग्रँदै गएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार हुँदै आएको बताए ।

पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पसामा ६ जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

यस्तै पोखरामा पनि एक कोरोना सङ्क्रमित वृद्दको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय पुरुष रहेका छन् ।

मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार