रुस-युक्रेन युद्धकाे उदाहरण दिँदै झलनाथले भने: नेपालले पनि यसबाट सिक्नुपर्छ
ओलीको आरोपलगत्तै दिए चुनौतीसहितको जवाफ
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन दिन नहुने बताएका छन् ।
कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी अनुमोदन गर्दा चीनसँगको सम्बन्ध बिग्रिन सक्ने बताएका हुन् । ‘अहिले रुस-युक्रेन युद्ध चलिरहेको छ । युक्रेनका कारण आफूमाथि सुरक्षा चुनौती बढेको भन्दै रुसले आक्रमण गर्यो । अहिले युद्ध चलिरहेको छ,’ खनालले भने, ‘नेपालले पनि यसबाट सिक्नुपर्छ । टाढाको कुरा सुन्दा छिमेकी देशसँगको सम्बन्ध बिग्रिने अवस्था नआओस् ।’
नेता खनालले एमसीसीको प्रक्रिया आफू प्रधानमन्त्री हुँदा सुरुवात नगरेको प्रतिवाद गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले पोखरामा शुक्रबार आयोजित कार्यक्रममा झलनाथ खनालमाथि एमसीसी सम्झौताका लागि अमेरिकालाई निवेदनपत्र लेखेको आरोप लगाएका थिए । ‘एमसीसीमा निवेदन हाल्ने झलनाथ खनाल हिँड्दा ताली पिट्छन्, म हिँड्दा ढुंगा हान्छन्’, ओलीले भनेका थिए । ओलीको आरोपपछि नेता खनालले उनलाई चुनौतीसहितको जवाफ दिएका छन् । उनले एमसीसीका लागि आफूले कुनै पत्र नलेखेको दाबी गर्दै यदि लेखेको भए त्यस्तो पत्र सार्वजनिक गर्न चुनौती दिए ।
‘म प्रधानमन्त्री भएको बेला त्यस्तो कुनै चिठी र अनुरोध गरेको छैन । एमसीसीका बारेमा कुनै कुरा गरेको छैन,’ खनालले भने, ‘हामीले त्यो बेला एक कदम पनि अघि बढाएका थिएनौं, त्यतिबेला हाम्रो फोकस संविधान बनाउनकै लागि थियो ।’
उनले डा। बाबुराम भट्टराईको पालामा एमसीसीमा आवद्ध हुन चिठी लेखेर पठाइएको बताए । उनले भने, ‘मेरो पालामा भएको भए प्रमाण देखाउन चुनौती दिन्छु ।’ खनालले एमसीसी अमेरिकारको सरकारी निगम हो भनेर अमेरिकाको कानुनले नै भनेको पनि प्रस्ट पारे ।