रुसले ४५० जना सुरक्षाकर्मी गुमायो : बेलायती रक्षामन्त्री

रुसी सैनिकहरू युक्रेनको राजधानी किभमा प्रवेश गरेका छन् । युक्रेनमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ । यसै क्रममा बेलायतका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न नसकेको बताएका छन्।

“युक्रेनले प्रतिकार गरेका कारण रुस विफल भएको छ,” अन्तराष्ट्रिय संचारमाध्यमसँग कुरा गर्दै रक्षामन्त्री बेन वोलिसले भने। युक्रेनले घातक अस्त्रहरू सहयोगमा पाएर प्रतिकार गरेको कारण रुस विफल भएको उनले उल्लेख गरेका छन्।

“रुसी सशस्त्र फौजले करिब ४५० जना सदस्य गुमाएको छ। किभदेखि केही पर उत्तरमा रहेको विमानस्थल कब्जामा लिन पनि उसको विशेष फौज विफल भएको छ।”

रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई नियन्त्रणमा लिएको छ । भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन् । यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ । रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका मानिसहरु वासिन्दा ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन् । युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्। – बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार