तत्काल हिंसा अन्त्य गर्न रुसी राष्ट्रपतिलाई भारतीय प्रधानमन्त्री मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई टेलिफोन गरेर हिंसा अन्त्य गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतको प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवम् छलफलको बाटोमा आउन अपिल गरेको उल्लेख छ । भारतले रुस र नेटोबीच भइरहेको मतभेदलाई इमानदारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने भन्दै आएको पनि मोदीको भनाइ छ । रुस–युक्रेन युद्धमा भारतले अहिलेसम्म कसैको पनि पक्ष लिएको छैन ।

युक्रेनमाथि रुसी आक्रमणको दोस्रो दिन आज शुक्रबार पनि राजधानी किएभमा विस्फोटहरू भइरहेका छन् । अहिलेसम्म सेना र सर्वसाधारण गरी एक सय ३७ जना युक्रेनीले ज्यान गुमाएका विवरण प्राप्त भएको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्दै युद्ध अन्त्य गर्न रुसले कुरा गर्नुपर्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार