दुई दिनदेखि बेपत्ता १२ वर्षीया करुणाको शव खाल्डोमा गाडेको अवस्थामा भेटियो

मोरङमा दुई दिनदेखि बेपत्ता १२ वर्षीया बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । मोरङको लेटाङ नगरपालिका–८ लालहिरा सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा ज्यामिरे टोलकी करुणा राईको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जाते माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत बालिका बुधबार दिउँसो हराएकी थिइन् । स्कुल गएकी छोरी घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा शुक्रबार शव गाडेको अवस्थामा फेला भेटिएको हो । प्रहरीले शव उत्खनन गरेर बाहिर निकाले पनि स्थानीयले पोष्टमार्टमका लागि लैजान दिएका छैनन् । स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गर्दै दोषीलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गरिरहेका छन् ।  प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट बालिकाको घरबाट करिब ३ किलोमिटर टाढा पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार