पार्टीलाई थप क्षति हुन दिँदैनौं, तर गुटसँग सम्झौता हुँदैनः प्रधानमन्त्री

पार्टी विरोधी र गुटका गतिविधिलाई मान्यता नदिने ओलीको भनाई

 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई थप क्षति हुन नदिन पहल गरिरहेको बताएका छन् ।

मदननगर बल्खुमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुटगत गतिविधि गर्नेलाई सम्झाउने बुझाउने काम गरिरहेको बताए । ‘देशभर नयाँ पार्टी बनाउने अभियान चलाउनेलाई पनि सकभर सम्झाउने बुझाउने प्रयास भएको छ,’ उनले भने, ‘व्यक्तिगत तवरमा कुरा हुन सक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ । मेरो गुट भनेर भागबण्डा गर्ने अब चल्दैन ।’

प्रधानमन्त्री ओलीले गुटसँग सम्झौता नगर्ने पनि स्पष्ट पारेका छन् । ‘पार्टीमा जे पनि गर्न पाइने, अराजकता निम्त्याउने, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । पार्टी विरोधी र गुटका गतिविधिलाई मान्यता दिँदैनौं’, उनले भने ।

माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरेका छन् । ओलीले प्रचण्ड-माधव पक्षले कम्युनिष्ट आन्दोलन सिध्याउन माथिबाटै हान्नुपर्छ भनेर आफूलाई चारपटक साधारण सदस्यबाट समेत निकालेको आरोप लगाए । आफूहरुलाई पार्टीविहीन बनाउने उनीहरुको प्रयास असफल भएको भन्दै ओलीले एमालेमा फर्केर पनि फेरि फ्लोर क्रस जस्ता अपराध जारी राखेकोमा कुनै सम्झौता नहुने प्रष्ट पारे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्थापक पुष्पलालसँगैका चार संस्थापक नेताहरु नरबहादुर कर्माचार्य, निरन्जनगोबिन्द बैध्य, नारानविलास जोशी र मोतिदेबी श्रेष्ठ लाई पनि स्मरण गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार