आइकाओको स्वकिृति लिने तयारीमा गौतमबुद्ध विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव छिटै नै परीक्षण उडान पश्चात् नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सर्टिफिकेशन सकेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा रहेको छ । फागुन १५ सम्म हुने क्यालिब्रेशन फ्लाइटपछि परीक्षण उडान हुने र त्यसपश्चात् आइकाओको सर्टिफिकेट लिने प्रक्रिया अगाडि बढ्ने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि यो मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालनमा आउने छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल छ दशकअघिबाटै अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालनमा रहेको छ । नेपालमा तीन दशक अगाडिबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको अन्यथा काठमाडौंको विमानस्थलले मात्रै नेपालको हवाई चाप धान्न नसक्ने भनेर सिफारिस गरिएको थियो ।

अव भने त्रिभुवन विमानस्थलपछि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा पुगेको छ । यस विमानस्थलबाट पाँच घण्टा बढीको हवाई उडान अवधि रहने ठाउँहरूमा पनि सेवा दिन सकिने विमानस्थलले जनाएको छ ।

हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरू जडान र क्यालिब्रेशन फ्लाइटको ठेक्का पाएको एरोनोटिकल रेडियो अफ थाइल्यान्ड ९एरो थाई० को विशेष विमानले परीक्षण उडानको कामहरू गरिरहेको छ । यान्त्रिक परीक्षण उडान पश्चात् नेपाल वायुसेवा निगमको एयरबस ए ३३० जहाजबाट परीक्षण उडान गर्ने, त्यस सँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको छ ।

यस विमानस्थलबाट हवाई सेवा सञ्चालनका लागि एअर स्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिडियोर लगायतका सबै तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । त्यस्तै विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय सेवा प्रदायक हवाई कम्पनीहरूले पनि यहाँबाट आफ्नो सेवा सञ्चालनका लागि तयारी थालेका छन् ।

विमानस्थल प्रशासनका अनुसार पछिल्लो समय यो विमानस्थलबाट कतार एयरवेज, फ्लाइट दुबई, श्रीलंकन एयरवेज, म्यानमार एयरवेज लगायतका विभिन्न विमान कम्पनीहरूले आफ्नो सेवा सञ्चालन गर्न चासो देखाइरहेका छन् भने विमानस्थल आयोजनाले थाइल्यान्ड, भारत, अस्ट्रेलिया लगायतका देशहरूसँग पनि यस विमानस्थलमा त्यस देशका विमान कम्पनीहरूको सेवा सञ्चालनका लागि पत्राचार गरेको छ । यो विमानस्थल फोर इ क्याटगोरीको भएकाले यहाँबाट बोइङ ७७७२००, एयरबस ए ३३० ३०० प्रकारका जहाजहरूले पनि सेवा दिन सक्नेछन् र पाँच घण्टा बढीको उडान अवधिमा पनि यहाँबाट सिधै उडान भर्न सकिने छ । अर्थात् भैरहवाबाट सिधै जापान, अस्ट्रेलियादेखि युरोप, अमेरिकासम्म उडान गर्न सकिने छ ।

इन्स्टुमेन्टल ल्यान्डिङ सिस्टम र उच्चस्तरका प्राविधिक मेशिनहरू जडित फोर इ क्याटगोरीको यो विमानस्थलबाट प्रतिकुल मौसममा पनि लामो दुरीका मध्यममा ठुला जहाजहरूले उडान तथा अवतरण गर्न सक्नेछन् । यस विमानस्थल निर्माणका लागि आइसिवी–१ अन्तर्गत छ अर्ब ८२ करोड, आइसिवी–२ अन्तर्गत ५० करोड र विमानस्थल बिस्तारका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणमा २२ अर्ब ४० करोड गरी कुल ३० अर्ब लागेको छ ।

यस विमानस्थलमा तीन हजार मिटरको धावन मार्ग, ट्याक्सी वे, पाँच वटा जहाज क्षमताको पार्किङ वे, टर्मिनल बिल्डिङ, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रक भवन, पानी ट्याङ्की, तारबार, ड्रेनेज, पाँच सय कार क्षमताको पार्किङ, आवश्यक सबै उपकरणहरू जडान लगायतका कामहरू सकिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार