काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार (भोलि)को बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उल्लेख छ ।
प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुने सम्भावित कार्यसूची छ । यद्यपि बिहीबार तोकिएको बैठकमा भने अर्थमन्त्री शर्मा सहभागी नहुने जनाएका थिए । एमसीसी प्रस्ताव टेबल गर्ने समयमा पनि मन्त्री शर्मा संसद बैठकमा उपस्थित भएका थिएनन् ।
यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जानकारी दिएका छन् ।