तनुहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीमा प्रचण्ड र माधवले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताए ।
प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन टुट्ने बताएका हुन् ।
‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भनेपनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, पौडेलले भने । वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौ भन्ने सपना नदेख्न गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।
तर, वर्तमान गठबन्धन टुटेमा कस्तो गठबन्धन बन्छ भन्ने बारेमा अहिल्यै भन्न नसकिने उनको भनाइ थियो । ‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,’ उनले भने ।