बलात्कारको जाहेरी परेपछि बोले पल शाह, ४ जनामाथि लगाए आरोप

जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी थालेको छ। १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि उनको खोजी सुरू गरिएको छ ।
प्रहरीले खोजिरहेका शाहले आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् । उनले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका छन्।
उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखि निकाली सक्नु भएको होला र गाली गलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु म माथि गरिएको षडयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।

शाहले आफूमाथि षडयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् । ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवान् रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोला । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ती गायिकालाई प्रयोग गरेर दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले नियोजित ढङ्गले षड्यन्त्र गर्ने पलको दाबी छ ।

बुधबार साझँ शाहद्धारा अभिनित ‘म यस्तो गीत गाउँछु २’ फिल्मको प्रिमियरका क्रममा प्रहरी पल शाह खोज्दै हलभित्रै पुगेको थियो । उनलाई त्यहाँ नभेटेपछि प्रहरी फर्किएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार