एमसीसीमाथि छलफल गरियोस् भनि प्रस्ताव राख्ने अर्थमन्त्री नै काठमाडौं बाहिर

गत आइतबार सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गरेको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीका विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

आजको संसद बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ ।

संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसअघि आइतबार पनि उनले संसदमा एमसीसी टेबल गर्नुपर्ने थियो । अर्थमन्त्री भएका कारण एमसीसी टेबल गर्नुपर्ने भएपछि उनी बैठकमा उपस्थित भएनन् । उनी उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी टेबल गरेका थिए । उनको दल माओवादी केन्द्रका अधिकांश नेता एमसीसीको विपक्षमा छन् ।

आजको बैठकमा एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन् ।

सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ । उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नुपर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर गएको चर्चा चलिरहेको छ । शर्मा पर्वत उद्योग वाणिज्य संघको आज हुने साधरणसभामा सहभागी हुन कुश्मा पुगेका छन् ।

उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ । तर प्रधानमन्त्री भने गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको बालुवाटार निकट स्रोतको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार