अभिनेता पल शाहविरुद्ध यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर

काठमाडौं । अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । १८ वर्षमुनिकी बालिकासँग यौन सम्बन्ध राखेको आरोप उनीमाथि लागेको हो ।अभिनेता शाहबाट आफू पीडित भएको भन्दै एक गायिकाले उजुरी दिएकी हुन् ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले उनीमाथि कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार बिहानै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएकी हुन् । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।

हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । यही क्रममा एक जना ठूलो मिडियाका पत्रकारले उनलाई पलसँग भिडियो खिचाएर उनीहरू आपसमा मिलेका छन् भन्दै पललाई जोगाउन र गायिकालाई ‘होस्टाइल’ गराउन युट्युबमा भिडियो अपलोडसमेत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार