एमाले पार्टी जोगाउन केपी ओली र माधव नेपालबिच महत्त्वपूर्ण वार्ता सुरु

होटल मेरियटबाट ओली नेपालबीच आइसब्रेक

नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद मिलाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच महत्त्वपूर्ण वार्ता सुरु भएको छ ।
चर्चित व्यापारी दुर्गा प्रसाईँको मध्यस्थतामा नागपोखरीस्थित होटल मेरियटमा वार्ता सुरु भएको हो । वार्तामा अर्थमन्त्री विष्णु पौडेलसमेत सहभागी छन् । व्यापारी प्रसाईँकोमध्यस्थतामा दुवै पक्षका दोस्रो तहका नेताबिच छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपालको सन्देश लिएर आजै बिहान नेपाल पक्षीय नेता योगेश भट्टराई प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
सोही भेटका आधारमा आज माधव नेपाल पक्षले सर्वोच्चमा दायर गर्ने भनेको रिट समय नपुगेको बहानामा दर्ता गरिएको थिएन ।
चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।
मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्रदेखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार