मनकामना मन्दिर वैशाख महिनाभर बन्द हुने

गोरखामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा वैशाख महिनाभर पूजा बन्द गरिने भएको छ । कोरोना संक्रमण जोखिम बढेसँगै मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको हो ।

मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ विपद व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बन्द गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार बिहीबारदेखि वैशाख मसान्तसम्म मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए । ‘आज त काठमाडौ लगायतका ठाउँबाट भक्तजन आइसक्नुभएको छ, केवलकार पनि बिहानैदेखि भिडभाड छ, आज नै पूजामा रोक लगाइहाल्ने अवस्था छैन, सूचना जारी गरी भोलिबाट बन्द गर्छौं, उनले भने । वैशाख मसान्तसम्म वा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने उनले बताए । पछिल्लो समय मनकामना मन्दिरमा सरदर दैनिक चार हजारसम्म भक्तजन पुग्ने गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार