सूर्या ल्याबबाट पीसीआर गरेका १२२ जना विमानस्थलबाट फर्काइए (भिडियोसहित)

काठमाडौँको सिनामंगलस्थित सूर्या ल्याबबाट पीसीआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभूवन विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ ।

सूर्या ल्याबमा परीक्षण गरिएको पीसीआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका उनीहरुलाई फर्काइएको हो । विदेश यात्राका लागि पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । तर सूर्या ल्याबले नमुना नै नलिइ नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा भएपछि उक्त ल्याबको रिपोर्ट बोकेर यात्रा गर्न खोज्ने १२२ जनालाई फर्काइएको हो ।

विमानस्थलबाटै फर्काइएपछि उनीहरुले विरोध जनाएका थिए । सो क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारबाटै स्वीकृति प्राप्त ल्याबमा आफूहरुले परिक्षण गर्दा पनि सरकारले विदेश जान रोकेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

यसअघि ९ हजार रुपैयाँ तिरेर नक्कली पीसीआर परीक्षण रिपोर्ट बनाउने गरेको खुलेको थियो । मंगलबारमात्र महानगरीय अपराध महाशाखाको टोलीले सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रा. लिमा छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेको हो । चार घण्टामा नै स्वाब नै नलिइ नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि ल्याबका सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार