इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, २२ लाख भन्दा धेरैले पाएनन्

इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँड गरिएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार गोला प्रथामार्फत् ५१ हजार ६७० जनाले १० कित्ताका दरले र ८ जनाले ११ कित्ताका दरले आईपीओ हात पारेका छन् ।

आईपीओको लागि २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता आइपिओको बिक्री खुला गरेको थियो ।

राष्ट्रिय प्राथमिकताका क्षेत्रअन्तर्गतका पूर्वाधारको विकास, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, उद्योग, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिकरूपमा महत्व भएका योजनामा लगानी गर्ने उद्देश्य भएको कम्पनीको पूँजी संरचनाअन्तर्गत रु पाँच अर्ब अधिकृत पूँजी छ ।

कम्पनीको हालको जारी पूँजी रु ५५ करोड ५६ लाख बराबरको तथा चुक्ता पूँजी रु ५० करोड ४० लाख छ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार