प्रधानमन्त्री बन्ने दाउमा देउवा, जता सहज उतै ढल्कने रणनीति

ओलीले आफैलाई जोगाउन खोजेपछि बिच्किएको काँग्रेस प्रचण्डसँग लचिलो

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि चुलिएको तत्कालिन नेकपाको विवाद प्रधानमन्त्रीको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि थप पेचिलो बनेको छ । संसद् विघटनको निर्णयलाई बदर गरेसँगै पूर्ववत रुपमा फर्किएका माओवादी केन्द्र र एमालेभित्रको खिचातानीमा पछिल्लो राजनीति रुमलिएको छ ।

स्वभाविक रुपमा नयाँ राजनीतिक घटनाक्रमले प्रधानमन्त्रीको बर्हिगमन र नयाँ सरकार गठन हुने धेरैले अनुमान गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीका सार्वजनिक अभिव्यक्ति र उनले नेतृत्व गरिरहेका समूहका गतिविधीले तत्काल प्रधानमन्त्रीले राजीनामा गर्ने र नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने देखिदैन । यद्यपी प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले लिने आगामी रणनीतिपछि बामपन्थी विचार बोक्ने माओवादी केन्द्र र उनकै पार्टी एमालेभित्रै सहमति बनेन भने अंकगणितीय हिसाबले कमजोर ओलीको बर्हिगमन भने अब टाढा छैन ।

नयाँ सरकारका लागि काँग्रेसको रणनीति के ?

नयाँ सरकार गठनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा तत्कालै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थिति नबनेको बताउँदै आइरहेका छन् । कांग्रेस महामन्त्री डा। शशांक कोइराला भने केही दिनभित्रै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् ।

सभापति देउवा स्थिति परिपक्व बनेपछि मात्र सरकारको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री कोइरालाले भने हप्ता १० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता हुने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।

कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकमीसँगको कुराकानीका क्रममा केही दिनमा नै ओलीविरुद्ध अविश्वास प्रस्तावअघि बढ्ने र कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने दाबी गरेका हुन् ।

तर, कांग्रेस सभापति देउवाले भने सरकारको नेतृत्व गर्ने परिपक्व वातावरण नबनेको बताउँदै आइरहेका छन् । उनले विकसित राजनीतिक अवस्थामा सुरुदेखि नै सो धारणा राख्दै आइरहेका हुन् ।

देउवा मात्रै होइन उनी पक्षीय नेतासमेत अवस्था परिपक्व नबनिसकेको र कांग्रेसले सरकारको नेतृत्व गर्न हतार नगर्ने बताउँदै आइरहेका छन् ।

कांग्रेस सहमहामन्त्री डा.प्रकाशसरण महतले हप्ता १० दिनभित्रै कांग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति नबनेको र स्थिति परिपक्व नहुँदासम्म कांग्रेसले हतार नगर्ने बताए । ‘मलाई लाग्दैन नयाँ सरकार बन्ने वातावरण बनेको छ, त्यस्तो कुनै सहमति त भएको छैन, यसै हतार गर्ने सोचमा कांग्रेस छैन । पहिला स्थिति परिपक्व बन्नुप¥यो,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

हाल संसद्मा एमाले पहिलो शक्तिका रूपमा रहेको छ भने कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र जसपा चौंथो शक्तिका रूपमा संसद्मा छ ।

पछिल्लो अवस्थामा संसद्को चौंथो दलका रूपमा रहेको जसपा जता खुल्छ उतै सरकार बन्ने अवस्थासमेत छ । तर, कांग्रेसका लागि जसपाले मात्रै साथ दिएर सरकार बन्ने अवस्था भने छैन । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र र जसपा दुवै शक्तिलाई विश्वासमा लिनुपर्ने देखिएको छ ।

तर, प्रधानमन्त्री ओलीले जसपाको साथ लिन सकेमा भने ओलीले नै सरकारमा निरन्तरता पाउने सम्भावना हुन सक्छ । तर, जसपाभित्रसमेत ओलीलाई साथ दिने पक्षमा मतैक्यता छैन ।

प्रतिनिधि सभातर्फ कुल २ सय ७५ सांसद छन् । जसमा एमालेमा १ सय २०, कांग्रेसतर्फ ६३, माओवादी केन्द्रको ५३ र जसपातर्फ ३४ सांसद छन् । यसैगरी, संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक-एक गरी चार सांसद छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार