सुकिलुम्बा विमानस्थलमा तारा एयरको नियमित उडान हुने, एकतर्फी भाडा ९ हजार

यती एयर लाइन्सको भगिनी संस्था तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौँदेखि सुकिलुम्बा उडान भर्न लागेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमित उडान गर्न लागिएको जानकारी दिनुभयो ।

विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको थियो । फागुन ११ गतेदेखि काठमाडौँबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौँदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ ।

यसअघि माघ ३ गते इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा रु नौ हजार कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकामा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पर्या पर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ ।

नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । पूर्व जान चाहने आन्तरिक पर्यटकको सङ्ख्या बढिरहे पनि सडक यातायात झन्झटिलो र समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक सङ्ख्या बढ्ने उनले बताए ।

इलाममा सन्दकपुर, माइपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आर्कषणका केन्द्र हुन् । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्कमलगायतका मानिसलाई हवाई यात्राको लागि सहज हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार