अब एयरपोर्ट छिर्न टिकटको प्रिन्टेड कपि देखाउनु पर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आन्तरिक उडान गर्ने यात्रुहरूले पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउनु पर्ने भएको छ ।

विमानस्थलले आज एक सूचना जारी गरि यो व्यवस्था फागुन ७ गतेबाट लागू हुने जनाएको छ । विमानस्थल सञ्चालन विभागका निर्देशक टेकनाथ सिटौलाले सुरक्षा संवेदनशिलताका कारण यस्तो व्यवस्था गरिएको जनाए ।

यसअघि कतिपय यात्रुहरू पिएनआर नम्बर मात्रै लिएर पनि जाने गरेका थिए । यो नम्बर मात्र लिएर जाँदा व्यक्तिको नाम, ठेगाना लगायत विवरण नखुल्ने हुँदा अप्ठ्यारो सिर्जना भएकाले यो व्यवस्था लागू गरिएको उनको भनाइ छ ।

‘त्रिभुवन विमानस्थलको आन्तरिक उडानबाट यात्रा गर्न आउने कतिपय यात्रु महानुभावहरुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकोले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राखि फागुन ७ गतेदेखि लागू हुने गरी काठमाडौंबाट अन्यन्त्र यात्रा गर्नु पर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रुपमा पूर्ण विवरण सहितको टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउन हुन साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ्ग समयमा अनिवार्य रुपमा विमानस्थल प्रवेश गरिसक्न अनुरोध गरिएको’,  सूचनामा जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार