२५ दिन पनि टिकेन २५ केजीको माला, प्राधिकरणको महानिर्देशकमा फर्किए क्षेत्री

कर्मचारीद्धारा भव्य स्वागत

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यकारी निर्देशक राजकुमार क्षेत्री कार्यलय पुगेका छन् । प्राधिकरणको कार्यकारी निर्देशक पदबाट अनिवार्य अवकाश दिइएका राजकुमार क्षेत्रीलाई नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशसँगै क्षेत्री आज प्राधिकरणमा हाजिर भएका हुन्। सर्वोच्चबाट स्टे अर्डर आएकाले आज बिहान कार्यालयमा हाजिर भएको उनले बताए । क्षेत्री कार्यलयमा उपस्थित हुँदा सबै कर्मचारीहरु स्वागतका लागि बसेका थिए । उनको त्यहाँ भव्य स्वागत भएको छ ।

४ वर्षका लागि महानिर्देशक बनेका क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण देखाएर पुस २५ गते प्राधिकरणले क्षेत्रीलाई अनिवार्य अवकाशको पत्र दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५६ को दफा १९ अनुसार आफ्नो चार वर्षे कार्यकाल २०८२ कात्तिक ८ गतेमात्र सिद्धिने तर्क गर्दै क्षेत्रीले प्राधिकरणलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । क्षेत्रीले दायर गरेको रिटमा आइतबार न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले ९ फागुनमा विपक्षीलाई समेत छलफलका लागि बोलाएको छ ।

यसअघि पनि क्षेत्रीलाई महानिर्देशकबाट नहटाउन सर्वोच्चले अल्पकालीन आदेश दिएको थियो । अदालतको आदेश अवज्ञा गदैं प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणामार्फत मोटो रकम बुझेर विभागीयमन्त्रीलाई नयाँ महानिर्देशक बनाउन दबाब दिएपछि अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरि नयाँ व्यक्तिलाई महानिर्देशक नियुक्त गरिएको थियो । प्राधिकरणकै इतिहासमा पहिलो पटक वरिष्ठ ५ जनालाई पन्छाएर ११औ तहका कार्यरत प्रदीप अधिकारीलाई महानिर्देशक बनाएपछि यसको चौतर्फी आलोचना भएको छ । मोटो आर्थिक चलखेलमार्फत कनिष्ठलाई महानिर्देशक बनाएको आरोपसहित अधिकारीका विरुद्ध प्राधिकरणभित्रका धेरै कर्मचारी आन्दोलित छन् । तर, प्राधिकरणभित्र क्रियाशील युनियनहरूलाई भने अधिकारीले सरुवा बढुवा र ठेक्काको आश्वासन देखाएर आफ्नो पक्षमा लाग्ने प्रेरित गरेका छन् ।

अधिकारी महानिर्देशकको रुपमा कार्यलयमा पुग्दा उनलाई स्वागत गर्न उनका आसेपासेहरु पुगेका थिए । त्यतिबेला उनले आफ्नै खर्चमा २५ किलो फुलको माला खरिद गरि लगाएका थिए । अन्तत उनले त्यसरी लगाएको २५ किलोको मालाको औचित्य २५ दिन नपुग्दै हराएको छ । अधिकारी यसअधि पनि पटक पटक विवादमा आएका व्यक्ति हुन् ।

केहीसमयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र धावनमार्गमा निर्माण भएको स्ट्रिट लाइट राख्ने क्रममा युनियनको आडमा आफूलाई ठेक्का पारेर चर्को आर्थिक अनियमितता गरेको आरोप लागेका केही नेताहरूले भने अधिकारीलाई जोगाउन सके थप आर्थिक लाभ लिन सकिने बुझाइसहित अदालतको निर्णयलाई समेत चुनौती दिने गलत चेष्टा गरिरहेको प्राधिकरण श्रोत बताउँछ । प्राधिकरणभित्रका बिचौलियाको परिचय बनाएका उनीहरूले क्षेत्रीलाई हाजिर हुनबाट रोकेर अदालतलाई चुनौती दिनेगरि मुठभेडको अवस्था ल्याउन समेत खोजेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार