मलेसियाविरुद्ध नेपालको सानदार जित

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित निकालेको हो ।

११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेट गुमाएर १२.१ ओभरमा पूरा गर्यो । नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले लगातार दोश्रो खेलमा शतकीय ओपनिंग साझेदारी गरे। १०२ रनको साझेदारी गरेपछि आसिफ १२ औं ओभरमा भिरनदिप सिंहबाट क्याच आउट भए । जसअघि आसिफले २९ बलमा ४ चौका र १ छक्का मद्दतले ४२ रन बनाए ।

शनिबार भएको खेलमा डेब्यु गरेका आशिफले डेब्यू खेलमै अर्धशतक बनाएका थिए । आज मलेसियाविरुद्धको खेलमा ८ रनले अर्धशतक बनाउन चुकेका आशिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । वान् म्यान डाउनमा क्रिजमा उत्रिएका उप कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ६ रनको योगदान गरे । मलेसियाका लागि विरनद्वीप सिंहले १ विकेट लिनु बाहेक अन्य बलर असफल रहे ।

यसअघि मलेसियालाई १०९ मा अल आउट गरेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए । त्यस्तै, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १र१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिंङ गरेको मलेसियाले १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । मलेसियाको लागि सयद अजिजले सर्वाधिक २७ रन, शर्भिन मुनिएन्डीले २० रन तथा शफिक शरिफले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले सिरिज अन्तर्गत आगामी खेल नेदरल्याण्डसंग मंगलबार खेल्ने तालिका रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार